तालिबानसँगको शान्ति सम्झौता भंग भएको ट्रम्पको घोषणा ,अमेरिकि सेनाले अफ्गानिस्तान नछोड्ने



काठ्माण्डौ-

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तालिबानसँगको शान्ति सम्झौता भंग गरेको घोषणा गरेका छन् ।ट्रम्पले श्रृङ्खलाबद्ध ट्वीट गरेर आइतबार क्याम्प डेविडमा तालिबानी नेता र अफगानी राष्ट्रपतिसँग गोप्य बैठकमा भाग लिने कार्यक्रम निश्चित भएपनि अब यसलाई रद्द गरिएको जानकारी दिएका छन् ।

उनले काबुलमा भएको कार बम बिस्फोटपछि उक्त कदम उठाएको बताएका छन् जसमा एक अमेरिकी सैनिकसमेत १२ जनाको मृत्यु भएको थियो । तालिबानले उक्त हमलाको जिम्मेवारी लिएको थियो ।अफगानिस्तानका लागि विशेष अमेरिकी राजदूत जल्मे खलिलजादले गत सोमबार तालिबानसँग ‘सौद्धान्तिक रुपमा’ एक शान्ति सम्झौता भएको घोषणा गरेका थिए ।प्रस्तावित सम्झौता अनुसार अमेरिका अबको २० हप्ताभित्र अफगानिस्तानबाट आफ्नो पाँच हजार चार सय सैनिक फिर्ता लैजादैँ थियो ।

यद्यपि, अमेरिकी राजदूतले सम्झौतामाथि अन्तिम मुहर राष्ट्रपति ट्रम्पले लगाउनु छ भनेका थिए ।बिहिबार काबुलमा भएको कार बम बिस्फोटपछि तालिबानसँग वार्ता हुँदा पनि अफगानिस्तानमा हिंसा बन्द हुन नसक्ने भन्दै चिन्ता व्यक्त गरिएको थियो ।

सन् २००१ मा अमेरिकी सैन्य अभियानपछि पहिलो पटक अफगानिस्तानमा एउटा ठूलो हिस्सामा चरमपन्थीहरुको नियन्त्रण भएको छ ।तालिबानले अफगान सरकार अमेरिकाको कठपुलती भएको भन्दै कुराकानी अस्विकार गर्दै आएको छ ।अमेरिका र तालिबानबीच कतारमा अहिलेसम्म ९ चरणको शान्ति वार्ता भइसकेको छ ।

प्रस्तावित सम्झौतामा अमेरिकी सैनिकको विदाईको बदलामा तालिबानले कहिले पनि अमेरिका र उसको सहयोगीमाथि हमलाका लागि अफगानिस्तानको प्रयोग नगर्ने प्रावधान थियो ।तालिबानले सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानमा शासन गरेको थियो ।

अफगानिस्तानमा सन् २००१ मा अमेरिकाको अगुवाईमा सुरु भएको सैन्य अभियानपछि अन्तरराष्ट्रिय गठबन्धन सेनाका लगभग तीन हजार पाँच सय सदस्यको ज्यान गइसकेको छ जसमा दुई हजार तीन सय अमेरिकी छन् ।अफगानिस्तानका सर्वसाधारण, चरमपन्थी र सुरक्षाबलको मृत्युको संख्यामा अन्दाज लगाउन कठिन छ ।

सन् २०१९ मा संयुक्त राष्ट्रले आफ्नो एक रिपोर्टमा त्यहाँ ३२ हजार बढी सर्वसाधारणको मृत्यु भएको बताएको छ ।यस्तै, ब्राउन युनिभर्सिटीका वाटसन इन्स्टिच्युटका अनुसार त्यहाँ ५८ हजार सुरक्षाकर्मी र ४२ हजार विद्रोही मारिए ।बिबिसि-

प्रकाशित मिति : भाद्र २२, २०७६ आईतबार  ५ : ३५ बजे