डा. केसीको स्वास्थ्य कमजोर बन्दै :केसीको समर्थनमा नागरिक समाजलगायतले आन्दोलन थाल्ने



डडेल्धुरा-

डडेल्धुरा सदरमुकाममा सोमबारदेखि १७औं चरणको अनशन सुरु गरेका चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राध्यापक डा.गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गइरहेको छ।

डडेल्धुरा अस्पतालनजिकैको एउटा घरमा अनशन बसिरहेका उनको स्वास्थ्यस्थिति चिसोका कारण कमजोर बन्दै गएको हो।

चिसो मौसम र शारीरिक कमजोरीका कारण रिँगटा लाग्ने एवं टाउको दुख्न थालेको डा. केसीले बताएका छन्। डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। जितेन्द्र कँडेलले डा। केसीको रक्तचाप तलमाथि भइरहेको जानकारी दिए। उनका अनुसार बुधबार बिहान मात्रै दुईपटक उनको स्वास्थ्य जाँच गरिएको छ।

मंगलबार र बुधबार उनको पिसाब र रगत जाँच गरिए पनि रिपोर्ट आउन भने बाँकी रहेको डा। कँडेलले बताए।

‘हिजोसम्म उहाँको रक्तचाप ठीकठीकै थियो। आज ९०र६० मा झरेको छ,’ उनले भने, ‘उहाँले आफू कमजोर भएको महसुस गर्नुभएको छ। उहाँमा हिजोको जस्तो जाँगर छैन।’ उनले चिसोका कारण डा। केसीको स्वास्थ्यमा झन् प्रतिकूल हुँदै जान सक्ने प्रतिक्रिया दिए।

डा. केसीले पत्रकार सम्मेलन सरकारसमक्ष पहिला भएका सम्झौता कार्यान्वयन गर्नुपर्नेलगायत सातबुँदे माग राख्दै सोमबार डडेल्धुरा सदरमुकाममा अनशन सुरु गरेका हुन्। बुधबार तेस्रो दिन पनि उनको अनशन जारी छ। माग पूरा नभएसम्म अनशन फिर्ता नहुने उनको भनाइ छ।

अनशनप्रति समर्थन बढ्दै-

डा. गोविन्द केसीले १७औं पटक थालेको अनशनलाई विभिन्न संघसंस्थाले समर्थन जनाउन थालेका छन्।

डडेलधुरा नागरिक समाजलगायत छिमेकी जिल्ला डोटीका पाँच संघसंस्थाले सत्याग्रहको समर्थन गर्दै बुधबार डा. केसीको माग यथाशीघ्र माग सम्बोधन नभए कडा आन्दोलन थाल्ने चेतावनी दिए।

डोटीस्थित उद्योग वाणिज्य संघ, प्राध्यापक संघ डोटी बहुमुखी क्याम्पस एकाइ समिति, होटल व्यवसायी संघ डोटी, गैसस संस्था महासंघ डोटी र शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालीले सत्याग्रहप्रति समर्थन जनाएका हुन्। नागरिक समाज डडेल्धुराले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ध्यानाकर्षपत्रसमेत पठाएको छ।

 

प्रकाशित मिति : कार्तिक २१, २०७६ बिहीबार  ४ : ४८ बजे