२४ कात्तिक, डोटी
डडेल्धुरा सदरमुकाममा सोमबारदेखि १७औं चरणको अनशन सुरु गरेका चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राध्यापक डा .गोविन्द केसीको समर्थनमा स्थानिय उद्योग वाणिज्य संघ,डडेलधुरा नागरिक समाजलगायत अन्य संघसंस्थाले आन्दोलन थालेका छन ।
केसीको समर्थनमा डडेल्धुरामा आइतबार सरकारी सवारी साधन चलाउन रोक लगाइएको छ । केसी अनसन बसेको सातदिन बितिसक्दासमेत सरकारले कुनै सुनुवाई नगरेको भन्दै समर्थकले सरकारी नम्बर प्लेटका सवारीसाधन सञ्चालनमा रोक लगाएका हुन् ।बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म सरकारी नम्बरका गाडी र मोटरसाइकलमा रोक लगाइएको हो।
साथै डडेल्धुरा सदरमुकाम बागबजार क्षेत्रमा दिउँसो १ः३० बजेदेखि २ः३० बजेसम्म पसल बन्द गरिने नागरिक आन्दोलन संघर्ष समिति, डडेल्धुराले जनाएको छ। आइतबार नै मसाल जुलुससमेत आयोजना गरिएको छ।
डडेल्धुरामा पछिल्लो समय अनसनरत डा केसीको समर्थन तथा जीवन रक्षाका लागि दिनदिनै समर्थनका विभिन्न कार्यक्रमहरू भइरहेका छन्। तर सरकारले डा.केसीको अनसनप्रति चासो देखाएको छैन। केसीको पक्षमा समर्थन भने बढ्दै गइरहेको छ।
डडेल्धुरासहित सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका स्थानीय अगुवाहरुले डा . केसीलाई भेट्दै ऐक्यबद्धता जनाइरहेका छन्। सुदूरपश्चिमका विभिन्न जिल्लासँगै काठमाडौंबाट डडेल्धुरा पुगेर डा ।केसीले राखेका मागमा ऐक्यबद्धता जनाइरहेका हुन्। डा . केसीको अनशनको आइतबार ७ औँ दिन हो। सात बुँदे माग अघि सार्दै अस्पतालमै उनले आफ्नो अनशनलाई जारी राखेका छन्।
डा. केसीको स्वास्थ्यमा समस्या-
डडेल्धुरा सदरमुकाममा सोमबारदेखि १७औं चरणको अनशन सुरु गरेका चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राध्यापक डा . केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गइरहेको छ।
स्वास्थ्यमा समस्या देखिएपछि डडेल्धुरा अस्पतालमा उपचाररत केसीलाई थप उपचारका लागि जिल्लाबाहिर रेफर गर्ने तयारी अस्पतालले गरेको हो। उनलाई कैलाली वा काठमाडौं रेफर गर्ने तयारी भइरहेको अस्पताल स्रोतले जनाएको छ।
अनशनको ५औं दिन शुक्रबार स्वास्थ्यमा समस्या आएपछि उनलाई डडेल्धुरा अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा अनशन नबस्ने डा केसीको अडान भएपनि नागरिक समाज डडेल्धुराको दबाबपछि डडेल्धुरा अस्पताल सारिएको थियो। डा केसीको पिसाबमा क्रियटिनिन बढेको र चिनीको मात्रा घटेको चिकित्सकहरू बताउँछन्।
डा केसीको शरीरमा पानीको मात्रा घटेको, कमजोर हुँदै गएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। जितेन्द्र कँडेलले जानकारी दिए। स्लाइन नचढाउने उनको अर्को पनि अडान थियो। तर स्वास्थ्य अवस्था निकै कमजोर बनेपछि उनलाई स्लाइन चढाउन थालिएको छ।अस्पतालमा समेत अनशनलाई जारी राखेका केसीलाई डडेल्धुरा अस्पतालबाट रेफर गर्नुपर्ने अवस्था देखिएको बताइएको छ। ‘डडेल्धुरा अस्पतालमा अब डा. केसीलाई उपचार गराउनु पर्ने सघन उपचार कक्ष ९आईसीयू० र एबिजी छैन, भने यो संचालन गर्ने डाक्टरहरु पनि छैनन्,’ मेसु कँडेलले भने, ‘डडेल्धुरा अस्पतालमा ओपिडी, एक्सरे, भिडियो एक्सरे, समान्य अपरेसनलगायतका सेवा मात्र उपलब्ध छन्।’
डा. केसीको उपचारमा निरन्तर विशेषज्ञसहितको चिकित्सक टोली खटिएको छ। उनको रक्त चाप घटबढ भइरहेको अस्पतालका मेसु डा।कँडेलले बताए। आकस्मिक कक्षमै उपचार गराई रहेका उनलाई रेफर गर्ने विषयमा उनका भाइ किशोरसँग छलफल भइरहेको डा। कँडेलको भनाइ छ। ‘अब उहाँको यो अस्पतालमा उपचार संम्भव छैन। अबको विकल्प भनेको सुविधासम्पन्न अस्पताल नै हो।
त्यसबारे उहाँका भाई किशोरसँग छलफल गर्ने तयारीमा छौं।’ उनले भने,‘अबको केही दिनमै उहाँलाई अन्यत्र सार्नपर्छ होला।’ यसअघि इलाममा १६औँ अनसन बस्दा केसीले इलाम छोड्न मानेका थिएनन्। डडेल्धुरा छोड्न पनि उनले सजिलै नमान्ने आँकलन गरिएको छ।
डडेल्धुरामा सोमबारदेखि अनसन सुरु गरेका डा। केसी सदरमुकामस्थित अस्पताल निजिकै रहेको निर्मल क्लिनिक रहेको घरको तेस्रो तलामा अनशन बसिरहेका थिए।
उनको स्वास्थ्य अवस्थाबारे डडेल्धुरा अस्पतालसँग स्वास्थ्य मन्त्रालय र अन्य सम्बन्धित निकायले कुनै प्रतिक्रिया नदिएको तर आफूले स्वास्थ्य मन्त्रालयका सचिवलाई अस्पतालमा भर्ना गरिएकोबारे जानकारी गराएको डा. कँडेलको भनाइ छ।










