मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सन्दर्भः अन्तरराष्ट्रिय हात्ती दिवस, क्षयरोगबाट हात्ती जोगाउनै मुस्किल



सन् २००२ यता क्षयरोगका कारण चितवन राष्ट्रिय निकुञ्जका १५ हात्ती मरिसकेका छन् । यस अवधिमा अन्य कारणसहित २५ हात्ती मरेको तथ्याङ्क छ । चितवनका हात्तीमा पहिलोपटक सन् २००२ मा क्षयरोग देखिएको थियो । यो सङ्क्रमण सन् २०१६ सम्म जारी नै रह्यो । त्यतिबेला निकुञ्जको पशु चिकित्सकका रुपमा कार्यरत डा कमल गैरेका अनुसार क्षयरोगका कारण हात्तीमा समस्या देखिन थालेपछि निजी र सरकारी सबै हात्तीको क्षयरोगको परीक्षण गरिएको थियो । त्यतिबेला निकुञ्जका १७, निजी ४१ र राष्ट्रिय प्रकृति संरक्षण कोषका दुई हात्तीमा क्षयरोग देखिएको थियो । त्यसपछिका केही वर्ष सङ्क्रमण नदेखिए पनि सन् २०१८ यता क्षयरोगका कारण चार हात्ती मरेको अनुमान छ ।

आज अगष्ट १२ अन्तरराष्ट्रिय हात्ती दिवस मनाउँदै गर्दा निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजय श्रेष्ठले पछिल्लो पटक यही साउन १९ गते मरेको दीपेन्द्र गजमा क्षयरोगको सङ्क्रमण देखिएको दुःखद् जानकारी दिनुभयो । यसअघि मरेका तीनवटा हात्तीको शवपरीक्षणका क्रममा फोक्सोमा समस्या देखिएकाले ती हात्तीमा पनि क्षयरोगको सङ्क्रमण भएको अनुमान गरिएको उहाँको भनाइ छ । चितवन राष्ट्रिय निकुञ्जमा ६० हात्ती रहेका छन् भने यहाँका निजी होटलमा ५७ वटा हात्ती रहेका छन् । देशभर यो सङ्ख्या २०० रहेको बताइन्छ । दुई सय हाराहारी नै जङ्गली हात्ती रहेका छन् । श्रेष्ठ हात्तीमा दोस्रो चरणमा क्षयरोग देखापरेको अनुमान गर्नुहुन्छ । खतरा बढेपछि निजी र सरकारी सबै हात्तीको नमूना सङ्कलन गरी क्षयरोग परीक्षण गरिँदैछ । उहाँले भन्नुभयो, “पानी रोकिएलगत्तै एकदुई दिनमा नै परीक्षण शुरु गर्छौँ ।”

रगत र हात्तीको सुँढबाट निस्किएको ¥याल सङ्कलन गरेर परीक्षण गरिने उहाँले बताउनुभयो । समयमा नै उपचार गर्न सकेमा हात्ती बचाउन सकिने भन्दै उहाँले उपचारको कामलाई तीव्रता दिन लागिएको बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले क्षयरोग परीक्षणको काम तत्काल शुरु गर्न लागिएको बताउनुभयो । क्षयरोग देखिएमा उपचार गरेर हात्तीलाई निको पार्न सकिने भएकाले सबै हात्तीको परीक्षण गरिने उहाँको भनाइ छ ।

निकुञ्जका हात्ती विभिन्न पोष्टमा सुरक्षाका लागि राखिएका छन् भने निजी हात्ती पर्यटक बोक्नका लागि होटलहरुले प्रयोग गर्दै आएका छन् । चितवन राष्ट्रिय निकुञ्ज हात्ती सफारीका लागि अन्तर्राष्ट्रिय रुपमा प्रख्यात छ । यहाँ सामुदायिक वनमा निजी हात्तीमा पर्यटकलाई घुमाउने गरिन्छ । हात्ती चढेर दुर्लभ वन्यजन्तु हेर्न पर्यटक रुचाउँछन् । हात्तीमा क्षयरोग देखिएमा उपचार गर्न लामो समय लाग्ने गर्दछ । यो खर्चिलो पनि हुने चिकित्सकहरु बताउँछन् ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  १ : २५ बजे